१८१ चिनियाँ पर्यटक विमान चार्टर गरेर आए नेपाल

Byपहिलो सुचना

२०७९ चैत्र ३०, बिहीबार १३:१५ २०७९ चैत्र ३०, बिहीबार १३:१५ २०७९ चैत्र ३०, बिहीबार १३:१५

चैत ३०, काठमाडौं । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो ।

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे ।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए । ‘पाहुना भनेको भगवान हुन्, हामी भगवानको रूपमा सधैँ विदेशी पाहुनाको स्वागत गर्दछौं,’ उनले भने ।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एसियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत् थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौं,’ मन्त्री किराँतीले भने ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको उल्लेख गर्दै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत् प्रत्यक्ष  जोड्न चाहेको बताए ।

मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे ।

मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रूपमा नेपालले मनाउन चाहेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए ।

‘चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,’ राजदूत सङले भने । उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल विग माउन्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुसी व्यक्त गरे ।

उनले आगामी महिना झन्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए। पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरूरी रहेको बताए ।

एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook