चैत २८, बुटबल । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्।
प्रेस सेन्टर रुपन्देहीले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रूपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन्।
‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु- यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ’, उनले भने, ‘संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ।’
उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए। त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ।
गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए।
‘यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ। यसका लागि हामी फेरि पनि संसद्मा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ’, उनले भने।
उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरुसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
गृहमन्त्री श्रेष्ठले आफूले गृहमन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस भनि आफू सतर्क रहेको जिकिरसमेत गरे।
‘जनतालाई सहज ढङ्गले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ। यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गछौँ’, उनले भने।
