बिस्केट जात्रा : भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० जना पक्राउ

Byपहिलो सुचना

२०७९ चैत्र २८, मंगलवार १३:०३ २०७९ चैत्र २८, मंगलवार १३:०३ २०७९ चैत्र २८, मंगलवार १३:०३

चैत २८, भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो ।  दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यस वर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे ।

हिजोदेखि सुरु भएको किस्केट(बिस्काः) जात्रामा भैरवको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो  । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए । भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिए । उनले घाइते सबैको उपचार गरी राति नै  घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताए ।

ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको थियो । उनले भने, “जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरू माध्यमबाट थप ढुङ्गा हान्नेहरू पहिचान गरी पक्राउ गर्नेछौँ ।  पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौ ।”

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताए । उनले मानवीय क्षति नभएको जानकारी दिँदै जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने जानकारी दिए ।

आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथमा बिहानदेखि सबै पूजा सम्पन्न गरेर दिउँसो ४ बजेदेखि  प्यागोडा शैलीमा निर्माण भएको रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ सोमबार रथ तान्न सुरु गरिएको थियो । 

रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलु बुलु हिटी (सुकुलढोका), इनाचो हुँदै मधयराति १ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्‍याएका थिए । रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राख्नुपरेको थियो ।  आज बिहान स्थानीयवासीको सहायतामा रथ तानेर बिहान नौ बजे गःहिटीमा राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । 

उनले भने, “राति ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयवासीलाई आग्रह गरिएको र उनीहरूले नै रथ तानेर गःहिटी पुर्‍याएका छन् । ”भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्टमात्रिका गणका रूपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मर्‍यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको पाइन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुकपत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवम् इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए । तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने दरबारस्क्वायरमा रहेको  नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्वविख्यात शब्द उल्लेख गरिएको उनको भनाइ थियो ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्प स्वरूप पूजाअर्चनामा विश्व जात्रा नै  उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्काः हुँदै हाल बिस्केट जात्रा हुन पुगेको संस्कृतिविद् श्रेष्ठले उल्लेख गरे। बिस्केट जात्रामा भैरवको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताइन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook