नारायणगढ–बुटवल सडक कालोपत्र

Byपहिलो सुचना

२०७९ चैत्र २२, बुधबार ०९:४० २०७९ चैत्र २२, बुधबार ०९:४० २०७९ चैत्र २२, बुधबार ०९:४०
Black Topped Road

चैत २२, नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिनुभयो । “हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ ।” अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजारभन्दा बढी जनशक्ति तथा दुई सय बढी उपकरणको प्रयोग गरिरहेको झाले बताउनुभयो । सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरणको प्रयोग गरिएको छ । डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षातलगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताउनुभयो ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत रहेको बताउनुभयो । हाल सो सडकमा कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । उहाँले भन्नुभयो, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ ।”

सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन् । चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो गरिँदै छ । दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook