चैत १४, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न मंगलबार दिउँसो गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छन् ।
प्रधानमन्त्रीले चैत ६ मै विश्वासको मत लिए पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
यसबीचमा प्रधानमन्त्री दाहालले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति खोजिने र बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।
