थारु समुदायमा होली पर्वमा आगो भित्र्याउने प्रचलन

Byपहिलो सुचना

२०७९ फाल्गुन २३, मंगलवार ०७:१९ २०७९ फाल्गुन २३, मंगलवार ०७:१९ २०७९ फाल्गुन २३, मंगलवार ०७:१९

फागुन २३, कंचनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्।

देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिए।

होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए।

‘होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ। देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ,’ उनले भने।

सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाइएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन्।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ। रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ। आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उनले बताए।

‘होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौँ। होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन्। महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ,’ उनले भने। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook