फागुन ६, काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरे ।
सेनाले संगठन स्थापनाको दुई सय ६० औं वार्षिकोत्सवका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरेका हुन् ।
मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । दसैं, तिहार, संक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरू विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ ।
वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए ।
‘नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न गर्यो । ठूलो संख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वर्ल्ड रेकर्डमा संग्रहित गरेका छौं,’ उनले भने ।
