राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ – प्रधानमन्त्री

Byपहिलो सुचना

२०७९ माघ २७, शुक्रबार ०८:१३ २०७९ माघ २७, शुक्रबार ०८:१३ २०७९ माघ २७, शुक्रबार ०८:१३

माघ २७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्।

पार्टीको बिहीबार भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए।

विगतमा भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको प्रचण्डले बताएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले बताए।

बैठकमा महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राखेका थिए।

अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पारेका थिए।

उनले पार्टीले आगामी दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गरेका थिए।

दुई महिने सङ्गठनात्मक अभियानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर जनतासँग अन्तरक्रिया गर्ने र पार्टी सङ्गठन विस्तार गर्ने छन्।

अभियानलाई माओवादीले जनतासँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानको रूपमा अर्थ्याएको छ।

जनतासँगको छलफलका आधारमा दुई महिनापछि पार्टीको केन्द्रीय समिति बैठकमा आगामी कार्यभारका बारेमा व्यापक छलफल गर्ने निर्णय बैठकले गरेको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook