माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । ९५ वार्षिय उनको उपचारका क्रममा नर्भिक अस्पतालमा बिहान साढे ६ बजे निधन भएको हो । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर राणा पूर्व अर्थ सचिव समेत थिए ।
उनी २०१३ देखि २०१७ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए । यस्तै सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न देशमा रहेर काम गरेका उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरेका थिए ।
अनि सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर उनी अध्यक्ष पनि भएका थिए । साविक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरिसकेका उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार पनि थिए ।
