माघ १७, सेन फ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियामा हुन गइरहेको ल्होछार रिमठिम साँझको तयारी पुरा भएको छ । मन्जुश्री सम्बत २८५९ औं ह्योयी (तावार ल्हो) सोनाम ल्होछारको अवसरमा तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाले सो कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रममा तामाङ जातिको मौलिक रिमठिम बारे जानकारी, र नेपालबाट आएका चर्चित सेलो गायक विजय लामा, शशिकला मोक्तान, हेम वाइवा लगायतको कलाकारहरुको सांगितिक प्रस्तुति, र मौलिक तामाङ खानपान रहने संस्थाको अध्यक्ष शेर लामाले जानकारी दिए । एल सिरेटोको जोम्सा क्याफेमा आइतबार प्रेस मिटमा बोल्दै संस्थाका अध्यक्ष लामाले ल्होछारको सम्पूर्ण तयारि पुरा भएको र सो कार्यक्रममा बे यरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै संस्थाका महासचिव सुरज पाख्रिनले भने, ” यस्ता कार्यक्रमले आफ्नो संस्कृति, पहिचान जगेर्ना हुने र आफ्नो भावि सन्ततीलाई पनि आफ्नो संस्कृति हस्तान्तरणमा महत्वपुर्ण भुमिका रहन्छ ।”
त्यस्तै संस्थाका सलाहाकर कुमार दोङले भने,”बिदेशमा भएपनि आफ्नो संस्कृति जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौँ, सम्पुर्ण नेपाली समुदायका दाजुभाई तथा दिदी बहिनीहरु उपस्थित भएर हामीलाई रिमठिम जगेर्नामा साथ सहयोग गरिदिनुहोस् ।”
कार्यक्रम फेब्रुअरी ११ तारिकमा अमेरिकाको सेन फ्रान्सिस्कोको ११११ गफ स्ट्रिटमा हुन लागेको हो । करिव ८०० जना दर्शक अट्ने सो हलमा प्रसस्त पार्किङको सुविधा छ ।
