राष्ट्रपतिलाई आज मतपरिणाम प्रतिवेदन बुझाउँदै आयोग

Byपहिलो सुचना

२०७९ मंसिर २९, बिहीबार ०८:५२ २०७९ मंसिर २९, बिहीबार ०८:५२ २०७९ मंसिर २९, बिहीबार ०८:५२

मसिंर २९, काठमाण्डौ । निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाइने बताए ।
निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने व्यवस्था छ । तर आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको भोलिपल्ट नै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन लागेको हो । आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।


आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो । निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने भएको छ । साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ ।
आयोगबाट प्रतिवेदन बुझेपछि केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नेछिन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ ।
अहिलेको सत्ता गठबन्धनबाटै नयाँ सरकार बनाउन नेपाली कांग्रेसले पहल गरिरहेको छ भने नेकपा एमालेले पनि सरकार बनाउनका लागि आफ्नो तर्फबाट पहल गरिरहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदको समर्थन चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook