ज्ञानकाजी तामाङ
कात्तिक २५,काठमाण्डौं । नेपालमा खुलेका साधारण निजी विद्यालयको १ जना विद्यार्थीको सरदर मासिक शुल्क कति पर्ला? रु ५ हजार रुपैया !!! ५ हजार रुपैया निजी विद्यालयमा खर्च गरेपछि उसले अहिलेको बजारमा उपलब्ध उत्कृष्ट शिक्षा पाउन सक्छ ।

तर सघिंय राजधानी काठमाडौं कै एक कुनामा भने सरकारले निशुल्क गरेको आधारभुत शिक्षा सरकारी विद्यालायबाट पाउन नै पनि प्रति विद्यार्थी मासिक रु ५ हजार रुपैंया भन्दा बढि खर्च गर्न बाध्य छन् । ३५० घरधुरि रहेको गाँउमा मा.वि. तह सम्मको विद्यालय समेत नभएपछि सो गाँउका विद्यार्थीहरु दैनिक प्रति विद्यार्थी १५० रुपैंया भाडा तिरेर कक्षा ९ भन्दा माथिको अध्यनका लागि मासिक करिब ५ हजार रुपैंया गाडि भाडामा मात्रै खर्च गर्न बाध्य छन् ।
यस्तो बाध्यतामा परेका विद्यार्थीहरु हुन काठमाण्डौं जिल्लाको गोकर्णेश्वर नगरपालीका वडा नं १ ओख्रेनी गाँउका । सरकारले ओख्रेनी र चिलाउने गाँउलाई २०७२ सालमा सघिंयता लागु गरे सँगै नगरपालिका घोषण गरे । तर नगरपालिकाको लागि चाहिने आधारभुत पुर्वधार समेत नरहेको ओख्रेनी गाँउमा अहिले सम्म नत मा.वि. तह सम्मको विद्यलाय छ नत वर्षभरि सवारी चल्नसक्ने सडक नै ।

सुन्दरीजलबाट करिव २ घण्टाको पैदलयात्रा गरी पुग्न सकिने ओख्रेनी गाँउदेखि बजारसम्म अस्थायी रुपमा बस सञ्चालन भएता पनि चर्को भाडाका कारण सास्ती खेप्नुपरेको छ । समितिको रुट नभएको कारण नीजि रुपमा सञ्चालन गरेको बस स्थानीयबासीका लागि फलामको चिउरा चपाउनु सरह भएको छ । “विरामी पर्दा काम लाग्दैन, अर्कै गाडी बोलाउनुपर्छ, आउने जाने गर्दा ६ हजार लाग्छ,” स्थानीयहरु बताउँछन् । गाडी चढ्नै परेपनि सुन्दरीजलसम्म आईपुग्न रु १०० रुपैयाँ भाडा लाग्छ । नियमित बस सेवा र भाडा सहुलियत भएमा गाँउलेलाई सहज हुने स्थानिय नागरिकको गुनासो छ ।
“तीनवटा गाउँको लागि जसोतसो कक्षा ८ सम्मको एक विद्यालय सञ्चालन भईरहेको छ । कक्षा ८ पढेपछि उच्च शिक्षा हासिल गर्ने ठाउँ छैन । ९ कक्षा भन्दा माथि अध्यन गर्न ओख्रेनी देखि सुन्दरीजलसम्म गाडीमा आवतजावत गनुपर्ने हुन्छ,” इश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक मधु प्रसाद सिंखडाले बताए । उनले अगाडि भने, “गाडीभाडाको हिसावले हेर्ने हो भने कुनै नीजि विद्यालयमा पढाएको भन्दा कम छैन । रोजगारको अभावसंगै दैनिक खर्च गरेर विद्यालय पठाउन नसकिएपछि अधिकांश बालबाललिकाहरुले पढाई बिचमै छाड्नुपर्ने बाध्यता छ । ईश्वरी आधारभूत विद्यालयको प्रयासमा दरबन्दी र शिक्षक माग गरेपनि नगरपालिका र सम्बन्धित पक्षले चासो देखाएको छैनन् । जसले गर्दा गाँउमा साक्षरता दर नै घटेको अवस्था छ ।”

नुवाकोटको सिमनामा परेको यो बस्तीमा तामाङ समुदायको बहुल्यता रहेतापनि क्षेत्री, नेवार र गुरुङ लगायत समुदाय पनि बस्दै आएका छन् । काठमाडौँकै भू–भाग परेपनि आफूहरु हरेक सेवा सुविधाबाट बञ्चित रहेको सुनाउँछन् ओख्रेनीका रिसिराम खत्री । उनका अनुसार स्थानीय सरकार आएपछि गोरेटो बाटोलाई अलि सहज बनाउन खोजिएपनि आवश्यक पूर्वाधारको अभावले गाउँबस्ती नै ओझेलमा परेको छ । खानेपानी, यातायात, स्वास्थ्य र शिक्षाको अभावका कारण गाउँमा परिवर्तन हुन मुस्किल भएको बताउँछन् ।
त्यस्तै गाउँका ६७ वर्षिय पदमबहादुर तामाङ भन्छन, “आशैआशले जीवन बित्ने भो, अब आफ्नो नाती– नातिनीको पालामा पनि गाउँमा कुनै सुविधा आउने टुंगो भएन ।” उनले अगाडि भने, “नगरपालिकामा को मेयर छन् को वडा अध्यक्ष केही थाहा छैन् । चुनावको बेला आउँछन् अरुबेला आउँदैनन् र चिन्दापनि चिन्दिन । वडा अध्यक्षहरु पनि सुन्दरीजलकै हुन्छन्, सबै विकासको काम पनि त्यतै हुन्छ, हाम्रो बारेमा सुनिदिने र बोलिदिने कोही भएनन् । वर्तमान निर्वाचनको कुरा त परै जाओस् अघिल्लो ‘सांसद’ र ‘मेयर’ को हुन् उनलाई थाहा छैन । जसोतसो गरेर खाएपनि मूख्य समस्या यातायात नै रहेको बताउँदै बाटो निर्माण गरी सवारी छुट लगायतका विषयमा आफ्नो आवाज सम्बन्धित पक्षसंग पु¥याईदिन हामीसंग अनुरोध गरे ।

शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्जभित्र बस्ती भएकै कारण कतिपय काम गर्न कठिनाई आइरहेको स्थानीयहरु बताउँछन् । पुर्खौ देखि बसोबास गर्दै आएकोले आफ्नो ठाउँको माया लागेको बताउने ओख्रेनीबासीहरु निकुञ्जभित्रका जंगली जनवारहरुसंग चुनौती सामाना गर्दै बस्नुपर्ने अवस्था रहेको बताउँछन् । पाकेको खेतीबारी नोक्सानीदेखि घरपालुवा जनवारसमेत आक्रमण गरेको जर्जर अवस्था सहेर बस्नुपर्ने बाध्यता छ । जंगली जनवारबाट सुरक्षित रहन तारबार लगाउन सम्बन्धित पक्षसंग पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।
पर्यटकीय एवम् धार्मिक क्षेत्र मुलखर्क, ओख्रेनी, चिलाउने र कुने गाउँहरुमा प्राकृतिक सुन्दरतासंगै स्वच्छ हावापानी र मनोरम दृश्यवालोकन गर्न सकिन्छ । रसुवाको गोसाईकुण्ड, सिन्धुपाल्चोकको हेलम्बु, भक्तपुरको नगरकोट र नुवाकोटको विभिन्न गाउँमा पुग्ने हाईकिङ तथा पर्यटन पदमार्ग रहेको क्षेत्रको व्यवस्थापनमा सम्बन्धित वडा, नगर तथा जिल्लाले चासो नलिएकोले प्रशिद्ध एवम् मौलिक साँस्कृतिक विविधता बोकेको ठाउँ ओझेलमा परेको छ ।

मूख्य पेसाः
खेतीपातीका रुपमा कोदो, पिडालु, फापर र मकै उब्जाउ हुन्छ तर ६ महिना पनि पुग्दैनन् खाना । अन्य पेसा नभएपछि अर्को पेसा हो रक्सी पार्ने । तयारी रक्सी बेचेर चमाल र अन्य रासन किनेर ल्याउँछन् गाउँलेहरु । सुन्दरीजल, जोरपाटी, बौद्ध लगायत केही स्थानमा बेच्नका लागि आएपनि प्रहरीले दुःख दिने गर्छन् । जसोतसो जीविका चलाउँदै आएका ओख्रेनी, कुने, चिलाउने र मुलखर्कका नागरिक काठमाडौँबासी भएको अनुभूति गर्दैनन् ।
निर्वाचनको महोल:
अहिले निर्वाचनको पर्व चलिरहेको छ । विभिन्न राजनीतिक दलले आफ्नो उम्मेद्वारलाई घाँटीमा नअट्ने गरी फूलमाला लगाएर टोल घुमाइ रहेका छन । उम्मेद्वारहरुले सोझा जनतालाई विभिन्न योजना र आशा बाढ्दै हिडिरहेका छन् । कतिपयाले निर्वाचन आचारसंहिताको समेत धज्जी उडाउँदै मतदातालाई बस्तुलाईझै मोलमोलाई गरिरहेका छन् । आफूतर्फ आकर्षित गर्न विभिन्न भ्रम समेत छर्न बाँकी राखेका छैनन् उम्मेद्वार र राजनीतिक दलहरुले । बिडम्बना संघीय राजधानीकै यी ठाउँबस्तीको समस्या सुन्नुपर्दा लाग्छ राजनीति र सरकार चलाउनेहरु हुनेखाने र सम्पन्न वर्गहरुको हितका लागि मात्र सिमित रहेको देखिन्छ ।
यस अघि ओख्रेनी, चिलाउने जस्ता बस्तीहरुको प्रतिनिधित्व गर्दै क्षेत्रिय सांसद बनेका कृष्ण राई, प्रदेश मन्त्री समेत बनेका रामेश्वर फुयाँल र गोकर्णेश्वर नगरपालिकाको पूर्व मेयर सन्तोष चालिसेहरु फेरी पनि चुनावी मैदानमा होमिएका छन् । आफ्नो निर्वाचन क्षेत्रका यी समस्याहरु नदेख्ने र नपुग्ने ती नै व्यक्ति फेरि उम्मेद्वार बनेको देख्दा ती गाउँलाई गिज्याईरहको जस्तो लाग्छ ।
५ वर्षको कार्याकाल नगर चलाउने मेयरसाब, प्रतिनिधिसभा सदस्य भएर सांसद छिर्ने राई र प्रदेश मन्त्री भएर बाघको मूर्ती र कागको मूर्तिमा खर्च गर्ने पूर्व मन्त्रीले पुनः उम्मेद्वार भएर भोट मागिरहदा ओख्रेनी, चिलाउने र मुलखर्क जस्ता गाउँका जनताको समस्या समाधान गर्न के कस्तो नीति, योजना बनाएर हिड्नुभएको छ ?
सुन्दरीजल हुँदै अन्य पर्यटकीय क्षेत्र रसुवाको गोसाईकुण्ड, सिन्धुपाल्चोकको हेलम्बु , नुवाकोट र भक्तपुरको नगरकोट लगायत पर्यटकीय क्षेत्र जोड्ने पदमार्गमा राजस्व स्वरुप वृद्धि गराएपछि पर्यटक आउन पनि गाह्रो मानेका छन् । राजस्वलाई पनि सहजीकरण गराउन स्थानीय सरकार र सम्बन्धित पक्षसंग माग गरेका छन् ।
