कात्तिक १३, एजेन्सी ।दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन् ।
कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन इभ मनाउन दिइएको थियो । सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ । बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ ।
अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ ।
मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन् । दुई जना विदेशीको पनि मृत्यु भएको छ। घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका नेताहरूले दुस्ख व्यक्त गरेका छन् । दक्षिण कोरियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
