कात्तिक १२, काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
तिलागुफा नगरपालिका-१० रानावाडामा आज बिहान ८ बजे बम विस्फोट भएको हो जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
विस्फोटमा परी स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।
घाइते हुनेमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, ५ वर्षकी मुस्कान थापा, र ३ वर्षकी दर्शना राना रहेका छन् ।
प्रहरीका अनुसार बम नयाँ हो वा पुरानो भन्ने खुलेको छैन ।
बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । नेपाली सेनाको हेलिकोप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको उनले बताए ।
स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।
