अछाममा पहिरोबाट १२ जनाको मृत्यु, ८ बढी अझै बेपत्ता

Byपहिलो सुचना

२०७९ आश्विन १, शनिबार ११:४३ २०७९ आश्विन १, शनिबार ११:४३ २०७९ आश्विन १, शनिबार ११:४३
Pahiro

असोज १, अछाम । अविरल वर्षासँगै आएको पहिरोमा परि अछाममा १२ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २(२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

रिजालका अनुसार यस्तै अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए ।

अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ । हिड्ने बाटो समेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनले बताए । शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो आयो ।

कतिपय गाउँलेहरु निन्द्रा थिए, जागेकाहरुले पनि पानीको ठुलो आवाजले पहिरो आएको कसैले थाहा पाएनन्। पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिदियो। नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिए ।

स्थानीय प्रतापबहादुर शाहीका अनुसार बिहान पाँच बजेतिर वरपरका छरछिमेकीले नेत्र र रिटको घर पहिरोले सखाप पारेको देखेका थिए ।

‘राति धेरै ठूलो पानी परेको थियो, पहिरो जाँदा कसैले थाहाँ पाएनन्, बिहानतिर त, दुई घरका ९ जना पहिरोले लग्दा हामीहरू आत्तिएका छौ, अहिले तत्काल १० घर पनि जोखिम छन्,‘शाहीले भने ।

पहिरोमा पुरिएका मध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ। अन्यको खोजी गर्न गाह्रो भइरहेको शाहीले बताए ।

‘यो कुरा प्रकृतीको कुरा हो, सुरक्षित ठाउँ भनेर सोच्या थियौं, यहाँ यस्तो घटना पहिला कहिल्यै भएको थिएन, पहाडमा यस्तै हुन्छ, अब बिपद् कम गर्न अति जोखीमका घरलाई सुरक्षित डाँडामा राख्नुपर्छ, उद्धार गर्ने विषयमा सम्पर्क नै भएको छैन, गाउँले डराइरहेका छन, चारैतिरबाट बाटोहरु बन्द छन्,’ उनले भने ।

यो भन्दा अगाडि नाडागाउँमा २०४० सालमा समान्य पहिरो आएको थियो। त्यसपछि लामो समय सम्म यहाँ पहिरो आएको थिएन ।

तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ। यहाँ हिँडेर जाँदा ९ घण्टा बढी समय लाग्छ। यहाँ स्थानीय सरकारले केही ठाउँमा सडक बिस्तार गरे पनि अहिले गाडी हिड्ने अवस्था छैन ।

बाटो र सञ्चार अबरुद्ध हुँदा पहिरो प्रभावितको उद्धारमा थप कठिनाइ भएको छ ।

‘यहाँ उद्धारको आवश्यकता छ, सुरक्षा निकायसँग सम्पर्क भइरहेको छैन गाउँमा वृद्धबृद्धा, बालबच्चा, गर्भवतीलाई छिटो उद्धार गरेर अन्त ठाउँमा लग्नुपर्ने जरूरी छ’, शाहीले भने, ‘गाडी हिँड्ने बाटो छैन हेलिकप्टरबाट भए पनि गाउँमा बाँचेकालाई त बचाउनु पर्‍यो नि,’ शाहीले भने ।

अहिले नाडाका ५० जना स्थानीय एकै ठाउँमा जम्मा भएर उद्धारको प्रतिक्षामा छन् ।

‘पानी परिरहेकै छ। गाउँमाथिबाट पहिरो आइरहेकोले २० वटै घर जोखिममा छन्, सुरक्षा निकायहरु आउँदैछन् बाटोमा छन् कि भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको बताए ।

‘प्रभावितहरुलाई उद्धार गर्न घटनास्थलमा सुरक्षा निकायहरु परिचालन भएको छ,’ उनले भने ।

यसैबीच गृहमन्त्री बालकृष्ण लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook