९ सेकेन्डमा ध्वस्त बनाइयो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन

Byपहिलो सुचना

२०७९ भाद्र १२, आईतवार १५:१४ २०७९ भाद्र १२, आईतवार १५:१४ २०७९ भाद्र १२, आईतवार १५:१४

भदौ १२, नयाँ दिल्ली । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ । आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो । राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए ।  उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो ।

झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदार्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको थियो ।

ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ । केहीबेर नजिकै रहेको राजमार्ग बन्द गरिएको छ ।

भवन भत्किँदा फैलिएको धुलो हटाउन सयौं कर्मचारीहरू खटाइएको छ ।

गत वर्ष यही समयमा भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती दुइटा भवन भत्काउन आदेश दिएको थियो ।

यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो । उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गरेको थियो । सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो ।

सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ । ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए । सुपरटेकको अवैधानिक निर्माणविरूद्ध  मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ ।

सुपरटेको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए । उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो । ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने भन्दै मुद्दा हालेका थिए ।

सर्वोच्च अदालतले ती दुई टावरमा दुई भवनबीच कायम हुनु पर्ने दूरी र अग्नि नियन्त्रणको मापदण्ड पनि पालना नभएको बताएको छ ।

सर्वोच्चले मापदण्डविपरीत ती भवन निमार्णका लागि स्वीकृति दिने अधिकारीहरूलाई पनि कानुनी दायरामा ल्याउन भनेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook