भदौ ९, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ ।
रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए ।
उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपचारका लागि अस्पताल लगेको थियो ।
कैदीबन्दी भागेपछि छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ ।
घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ । (रासस)
