भदौ ६, काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी भएको सम्झौताका लागि प्राधिकरणलाई धन्यवाद दिए । उनले आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयमा चार्जिङ स्टेसन विस्तार गर्नसमेत आग्रह गरे ।

विद्युत् तथा विद्युतीय पोल चोरीलगायत विषयमा प्राधिकरणसँग यसअगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेसनको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए ।

समारोहमा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराए । त्यसका लागि प्रहरीको भूमिका सबभन्दा महत्वपूर्ण हुने पनि उनले बताए । 

यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँगको सम्बन्ध थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले चार्जिङ स्टेसन स्थापना गर्ने काममा सुरक्षा चुनौती र स्थानको समस्या समाधान गर्न प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उनले बताए ।

कार्बन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा त्यसको असर कम गर्न विद्युतीय सवारी प्रयोग प्रवर्द्धन गर्ने र हाल सञ्चालनमा रहेका विद्युतीय सवारीको सहजतालाई ध्यानमा राखेर उक्त सम्झौता भएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook