साउन २६, काठमाडौं । नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘अन्तरपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ ।
वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यहीँ छन् ।
शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य समस्या हुन् । रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएपनि ती प्रभावकारी कार्यान्वयनका अभावले अलपत्र परेका छन् । मुलुकमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौं युवा विदेशिनु परेको छ ।
कोरोना सङ्क्रमणको कारणले वैदेशिक रोजगारमा जाने घटेपनि अहिले पुनः बढ्न थालेको छ । आव २०७३/७४ मा छ लाख ४२ हजार वैदेशिक रोजगारमा भएका थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै, आव २०७८/७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको छ ।
मुलुकमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता समृद्ध राष्ट्र निर्माण लागि सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन भएको थियो । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश युवा परिषद् गठन भएका छन् ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका समस्या पहिचान भए पनि उजागर हुन नसकेको बताए । उनले परिषद्ले युवाका सवालमा थुप्रै कानुन र कार्यक्रम ल्याएपनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएकाले युवाका खास मुद्दा अझै सम्बोधन नभएको बताए । “युवाका संरचना बने पनि ती संरचना प्रयोग गर्ने स्रोत, बजेट र साधनको अभावमा छन्” उनले भने, “त्यसैले युवाका मुद्दालाई अपेक्षाकृत रुपमा सम्बोधन गर्न सकिएको छैन ।”
उनले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखिए पनि कार्यान्वयन र सहुलितपूर्ण कर्जा प्रभावकारी रुपमा कार्यान्वयन नहुनु जस्ता समस्याले युवाका समस्या जस्ताको तस्तै रहेको बताए । बढ्दो वेरोजगारी समस्या र त्यसले युवा जनशक्ति विदेशिसने क्रमलाई रोक्न रोजगार प्राविधिकरण बनाएर युवालाई स्वरोजगार बनाउनुपर्ने उनको सुझाव रहेको छ । उनले युवा क्षेत्रमा धेरै नीति र संरचना बने पनि युवाको मानसिक क्षमतामा प्रभावकारी रुपमा काम गर्नका लागि राज्यले अझै नसकेको बताए ।
राष्ट्रिय युवा परिषद्का पूर्व कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवाका विधि, नीति कानुनमा कुनै समस्या नरहेको र ती कार्यन्वयनमा मात्र समस्या रहेको बताए । “युवाका लागि धेरै कानून र संरचना बने तर त्यसलाई कार्यान्वयन गर्नका लागि न सरकार, न कर्मचारीतन्त्रले नै तत्परता देखाए” उनले भने, “युवासँग सम्बन्धित बनेका कानुन र संरचनालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने हो भने युवाका समस्या समाधान हुन्छ ।”
उनले आफ्नो कार्यकालमा वेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र र बिना धितो ऋण उपलब्ध गराउनका लागि सहुलियतपूर्ण कर्जा ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताए । “हामीले ल्याएको सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सरकारले कुनै योजना राखेको छैन । कुनै पनि उद्यम गर्न चाहने युवालाई सहुलियतपूर्ण कर्जाबाट बाहिर रहेका छन्,” उनले भने, “स्वदेशमा नै केही गर्ने युवालाई सरकारले सहुलियतपूर्ण कर्जा दिनुपर्दछ । कृषिलाई प्राथमिकतामा राखेर युवालाई ऋण प्रवाह गर्नु पर्दछ ।”
राजनीतिक पार्टीहरुले पनि युवालाई केबल भोट बैंकका रुपमा मात्र प्रयोग गरेको नेपाली कांग्रेसका युवा नेता नयनसिँह महर बताउँछन् । नेतृत्व तहमा युवाको बर्चस्व नभएसम्म युवामैत्री नीति, योजना र कार्यक्रम आउन सक्दैनन् । उनी भन्छन्, ‘‘विश्वका विभिन्न देशको उदाहरण हेर्ने हो भने पछिल्ला केही वर्ष राज्य सञ्चालनमा युवाको नेतृत्व बढ्दै गएको छ । अब नेपालमा पनि युवाले राजनीतिको नेतृत्व गर्ने र पाका नेताहरुले मार्गनिर्देश एवम् संरक्षकत्व ग्रहण गर्ने परिपाटीको खाँचो देखिएको छ ।’’ पार्टीभित्र पनि नियमित अधिवेशन भएमा युवा वर्ग नेतृत्वमा आउन सक्ने उनि बताउँछन् ।
राष्ट्रिय युवा सङ्घ, नेपालका अध्यक्ष किरण पौडेलले राज्यले वेरोजगार युवालाई स्वरोजगार बनाउने नाममा धेरै कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयन नभएकाले युवाका समस्या जहिँका तहिँ रहेको बताए । उनले युवाका नाममा छुट्टाइएका अनुदान र सहुलितपूर्ण कर्जा वितरणमा पारदर्शी नभएको टिप्पणी गरे ।
“युवाका नीति र कानुनमा समस्या छैन” उनले भने, “एउटा युवा आफूलाई स्वरोजगार बनाउनका लागि प्रमाणपत्र र बिना धितोबाट सहुलियतपूर्ण कर्जा लिनका लागि बैंक जान्छ, तर युवाले कर्जा पाउँदैन । अनि निरास भएर विदेशतिर भौंतारिन बाध्य हुन्छ ।”
उहाँले युवा लक्षित कार्यक्रममा पारदर्शी रुपमा काम नभएकाले आवाज उठाउनुपर्ने बताउनुहुन्छ । उनले शिक्षा, स्वास्थ्य र रोजगार संवैधानिक रुपमा राज्यले सुनिश्चित गरेपनि पाउन नसकिएको बताए । उनले युवालाई सीपसँग जोड्न सकेमात्र युवाका समस्या समाधान हुने बताए । “सडक, बाटो निर्माण जस्तै युवाको क्षमताका विकास गर्न जरुरी रहेको छ,” उनले भने, “तर सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेकाले युवाको क्षमता विकास भएको छैन ।”
नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष विकल राई युवाका नीति जुन चित्र देखाएको छ सो अनुसार कार्यान्वयन समस्या रहेको बताउँछन् । उनले युवाका क्षेत्रमा काम भएपनि कार्यान्वयन गर्ने निकाय बलियो नहुँदा युवाका समस्या जस्ताको त्यस्तै भएको बताए । उनले नेपालमा शिक्षा प्राप्त भएका युवालाई व्यवस्थापन गर्न कठिनाई भएको बताए । “पढाई सकेपछि काम गर्ने ठाउँ भेटिदैन । उद्यम गर्नका लागि सरकारले प्रोत्साहन गर्दैन” उनले भने, “अनि युवामा रहेको जोश जाँगर हराएर विदेसिन बाध्य भएका छन् ।”
कार्यक्रम छरिएर मुद्दा कमजोर
युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याएपनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न सकेको छैन । अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकारी हुन नसकेको छैन । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले युवाका कार्यक्रम छरिएर रहेकाले युवाका क्षेत्रमा काम देखिए पनि परिमाण आउन नसकेको बताए । “युवा स्वरोजगार कोष, प्रधानमन्त्री युवा स्वरोजगार जस्ता ठूला कार्यक्रम छरिएर रहेका छन्” उनले भने, “छरिएर रहेका कार्यक्रमबाट उपलब्धि हासिल गर्न सकिएको छैन ।”
युवाका क्षेत्रमा काम गर्ने सङ्घमा विभिन्न १४ वटा मन्त्रालय र १८ विभाग रहेका छन् । तर ति मन्त्रालय र निकायले युवाका क्षेत्रमा काम गरे पनि प्रतिफल प्राप्त हुन सकेको छैन । “हामीले युवा लक्षित सबै कार्यक्रम एकद्वार प्रणालीअन्तर्गत परिषदबाट सञ्चालन गर्न सरकारलाई आग्रह गर्यौँ” उनले भने, “तर ती कार्यक्रम एकीकृत गर्न नसकेर प्रभावकारी हुन नसकेका छैनन् । छरिएर रहेका कार्यक्रमम अर्बौ रुपिया खर्च भएपनि युवा क्षेत्रमा काम भने प्रभावकारी भएको छैन ।”
आयोनका अध्यक्ष राईले मन्त्रालयबीच समन्वयको अभाव पनि युवाका कार्यक्रम कार्यन्वयन नभएको बताए । उनले युवाका मुद्दालाई एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्न सके युवाका समस्या समाधान गर्न सकिने बताउँछन् । सरकारी तबरबाट सङ्घ प्रदेश र स्थानीय तह गरी अर्बौ रुपियाँ प्रत्येक वर्ष विनियोजन हुने गरेको छ । तर त्यो विनियोजन अनुसार भने काम भने हुन नसकेको छैन ।
योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का सहसंयोजक सुवोधराज सुवोधराज शेर्पालीले युवाको व्यवस्थापनका समस्या रहेको बताए । उनले युवाले उच्च शिक्षा हासिल गर्ने र वेरोजगार बन्ने समस्या रहेकोले राज्यले युवाले हासिल गरेको शिक्षाअनुसार उपयोग गर्न सक्नुपर्ने बताए । उनले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिमाणमुखी बनाउन नसकेको बताए । शेर्पाले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारीमुखी बनाउने जस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको बताए । उनले बजेटमा ल्याएको उत्पादनमुखी कार्यक्रमलाई कार्यन्वयन गरेर युवालाई स्वदेशमा नै स्वरोजागार बनाउनुपर्ने बताए ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।
दिवसमा विशेष कार्यक्रम
दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । परिषद्ले विदेशबाट फर्केका युवासँग उद्यम परिसंवाद, नवउद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद र सरसफाई तथा भिडियो प्रतियोगिता कार्यक्रम गरेको छ ।
युवा दिवसको अवसरमा भोलि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नु हुनेछ । कार्यक्रम शुरु हुनुभन्दा अगाडि प्रभातफेरिको आयोजना गरिएको छ । (रासस)
