दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री

Byपहिलो सुचना

२०७९ श्रावण ६, शुक्रबार १३:०७ २०७९ श्रावण ६, शुक्रबार १३:०७ २०७९ श्रावण ६, शुक्रबार १३:०७

साउन ६, कोलम्बो । श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् ।

श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी)का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि शुक्रबारलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो । भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए ।

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरूले राष्ट्रपति विक्रमासिङ्घको विरोध गरिरहेका छन् । यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको  थियो । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook