एसइईको रिजल्ट साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

Byपहिलो सुचना

२०७९ श्रावण ५, बिहीबार १९:४८ २०७९ श्रावण ५, बिहीबार १९:४८ २०७९ श्रावण ५, बिहीबार १९:४८
Exam Board

साउन ५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रूपमा भइरहेको जानकारी दिए ।

उनले नतिजामा प्राविधिक रूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रूजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको उनले बताए । 

अध्यक्ष डा शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अंक, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरू केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरि धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रूजु गर्ने कार्य भइरहेको छ ।’

उनले सबै विवरण रूजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरूमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए ।

स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ । 

शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक-शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उनको भनाइ छ ।

डा शर्माले भने, ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौं, आउँदो साताको सुरूमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौं ।’

एसइई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै भने ‘कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा सार्वजनिक गर्छौं ।’

अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटरमा इन्ट्री गर्ने, रूजु गर्नेलगायत काम भइरहेको जानकारी दिए ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook