असार ३२, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् ।
कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो । सो क्रममा आचार्यको शरीरमा घाउचोट लागेको छ । उनको कपडा च्यातिएको थियो । कुटपिट भएपछि उनी त्यहाँबाट भागेका थिए।
उनले बोकेका दुई वटा मोबाइल पनि विद्युत प्राधिकरणका कर्मचारीले खोसेका थिए ।
शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको थियो । प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए ।
आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुन् । (रासस)
