असार २३, काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।
कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरूषमा हैजा भेटिएको उनले बताए । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।
उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरूषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म तीन जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किसकेका छन् ।
