असार २०, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ । टिमले ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ । यसअघि नेपालले शुक्रबार पनि ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।
आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी-२० खेल खेलेको हो । २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रनमा अलआउट भयो ।
ओन्टारियोका भरुण सेहदेबले ५० रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले ४१ रनको योगदान गरे । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले समान विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन जोड्यो । नेपालका लागि रोहितकुमकार पौडेलले ३१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै नटआउट ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे ।
नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ र त्यसपछि नेपाली टिम स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ ।
