धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा: प्रधानमन्त्री देउवा

Byपहिलो सुचना

२०७९ असार १५, बुधबार ०७:१७ २०७९ असार १५, बुधबार ०७:१७ २०७९ असार १५, बुधबार ०७:१७
Deubaप्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

असार १५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीतिसमेत लिएको उल्लेख गरेका छन् ।

प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाइँदै छ ।

परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धानखेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको उनले बताए ।

नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको छ ।

‘भोकमरीको अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्य प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको छ’, प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

मुलुकमा सबैभन्दा बढी उपभोग हुने खाद्य वस्तुको रूपमा रहेको चामलका निम्ति बर्सेनि ठूलो धनराशि खर्चिनुपरेको वर्तमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजना कार्यान्वयनमा ल्याएको छ ।

सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवद्र्धनलगायतका विषयमा सरकारले काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए ।

यस वर्ष जैविक विविधता वर्ष मनाउने घोषणासमेत नेपाल सरकारबाट भइसकेको छ । प्रधानमन्त्री देउवाले तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमार्फत नेपालमा धान चामलको उत्पादनमा वृद्धि भई धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएका छन् ।

प्रधानमन्त्री देउवाले उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ ले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षासहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook