असार १४, टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० वटा शव फेला परेका छन् ।
द न्युयोर्क टाइम्सका अनुसार सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिस अवस्थामा फालिएको लरीमा सोमबार ती शव फेला परेका हुन् ।
अधिकारीहरूले १२ जनालाई जिवित फेला पारेपछि उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
मृत्यु हुनेहरू छिमेकी मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको छ । के कारणले उनीहरूको मृत्यु भयो भन्ने खुलिसकेको छैन ।
सोमबार सान आन्तोनियो तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको थियो । लरीभित्र उनीहरूको मृत्यु गर्मीका कारणले भएको हुन सक्ने बताइएको छ । प्रहरीले लरीका चालकको खोजी भइरहेको बताएको छ । (एजेन्सी)
