असार १०, काठमाडौं । धेरैजसो पालिकाहरुले आज आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । कतिपय पालिकाहरुले भने यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले सबै पालिकालाई अनिवार्य रूपमा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगर सभामा पेस गर्न आग्रह गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकाका प्रमुख तथा उपप्रमुखलाई प्रदेशस्तरमा तालिम दिएर असार १० भित्र आ–आफ्नो सभामा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेस गर्न आग्रह गरिसकेको थियो ।
यसअघि जेठ १५ गते सङ्घ, सरकार र असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् ।
