असार २, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो ।
विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सभामुख सापकोटाले आर्थिक विधेयक २०७९ माथि दफाबार छलफलका लागि आगामी असार ६ गतेको मिति तोकेका छन् ।
राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले आवश्यक पर्दा मात्रै ऋण उठाइने गरिएको जानकारी दिए । (रासस)
