जलवायु परिवर्तनले नेपालजस्ता मुलुक बढी प्रभावित छन्: प्रधानमन्त्री देउवा

Byपहिलो सुचना

२०७९ जेष्ठ २२, आईतवार ०७:४० २०७९ जेष्ठ २२, आईतवार ०७:४० २०७९ जेष्ठ २२, आईतवार ०७:४०

जेठ २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताए ।

यसले समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् ।

वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उनले अपेक्षा लिएका छन् ।

यस सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले हालै संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ ।

यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

प्रधानमन्त्री देउवाले यस अवसरमा वातावरण संरक्षणको कार्यमा संलग्न सबै व्यक्ति, संस्था एवं विकास साझेदारमा शुभकामना व्यक्त गर्दै यस अभियानमा आआफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैलाई आह्वानसमेत गरेका छन् ।

वातावरण संरक्षणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘केवल एक पृथ्वी’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जीउनयोग्य एकमात्र ग्रह पृथ्वीको वैशिष्टय र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको उनले बताए ।

यस वर्षका लागि तय गरिएको विश्व वातावरण दिवसको नाराको मर्मअनुरूप वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न यस दिवसले प्रेरणा मिलोस् भन्दै उनले शुभकामना दिएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook