चैत २४, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।
प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्री-वितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रूजु नगरी सिमकार्ड बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र बिक्री-वितरण भनेको हो ।
‘मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ”, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।
निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद/बिक्री नभएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ । (रासस)