पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

Byपहिलो सुचना

२०७८ फाल्गुन २०, शुक्रबार १३:५० २०७८ फाल्गुन २०, शुक्रबार १३:५० २०७८ फाल्गुन २०, शुक्रबार १३:५०
Human Rights

फागुन २०, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ । 

‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ’, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमतिबिना भिडिओहरू रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडिओहरू सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पुर्‍याउनु पर्दछ ।’

यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना संकलन गरिरहेको जनाएको छ ।

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook