बालुवाटारमा गठबन्धनको बैठक बस्दै, माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यको बैठक जारी

Byपहिलो सुचना

२०७८ फाल्गुन १५, आईतवार १०:३१ २०७८ फाल्गुन १५, आईतवार १०:३१ २०७८ फाल्गुन १५, आईतवार १०:३१

फागुन १५, काठमाडौं । एमसिसीबारे अन्तिम सहमति गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्न लागेको हो ।
बैठकमा उपस्थित हुने सत्ता साझेदारका नेताहरू बालुवाटार आउनेक्रम जारी छ ।
एमसिसीबारे आफ्नो पार्टीको धारणा बनाउन माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को निवास खुमलटारमा जारी बैठकमा एमसिसीबारे छलफल भइरहेको छ । यो बैठक सकेर प्रचण्ड बालुवाटार पुग्नेछन् ।
‍‍आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची छ ।
‘एमसिसी’ पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीभित्र व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने विषयमा छलफल अगाडि बढाइरहेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो । यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन् ।
यता अर्को सत्ता साझेदार दल जसपामा यादव पक्ष एमसिसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने अडानमा छ । भट्टराई पक्ष भने यही रूपमा पारित गर्नुपर्ने अडानमा छ। प्रचण्डले निर्णय लिनासाथ यादवले पनि निर्णय लिने भट्टराई पक्षको भनाइ छ ।
माओवादी र एकीकृत समाजवादीले एमसिसी पारित गर्न नमानेपछि प्रधानमन्त्री देउवाले एमालेसँगको छलफल अघि बढाएका थिए ।
शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी गएका थिएनन् ।
दुई पार्टीका नेताहरूले औपचारिक रूपमा बोल्दा कुनै सहमति नभएको बताए पनि उनीहरूबीच सँगै अघि बढ्न विश्वासको वातावरण बनेको छ । एमसिसी पारित गर्न एमाले तयार भए कांग्रेसले उसका माग पूरा गर्न सकारात्मक हुने आश्वासन दिइसकेको छ ।
एमसिसी पारित गर्न एमालेले सहयोग गर्नेमा प्रधानमन्त्री ढुक्क रहेको कांग्रेसका एक नेताले दाबी गरे ।
एमसिसी पारित गर्दा सरकारबाट हट्नुपरे पनि आफूले त्यसलाई सामान्य रूपमा लिने भनेर देउवाले आफू निकटहरूलाई बताइसकेका छन् ।
‘प्रधानमन्त्रीलाई सत्ता छोड्न कुनै समस्या छैन । त्यही भएर उहाँले एमालेको भर गर्नुभएको हो । निर्वाचनमा जान पनि समस्या छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘अर्कातिर एमालेले पनि अहिले नै सरकारमा जानुपर्छ भनेर भनेको छैन । उसले पनि निर्वाचन नै चाहेको छ । त्यसैले अब प्रधानमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई धेरै फकाउनुहुन्छ जस्तो लाग्दैन ।’
आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसका अर्का एक नेताले पहिलोसुचनालाई बताएका थिए।
ती नेताका अनुसार आइतबारपछि भने प्रधानमन्त्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कुर्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook