फागुन ११, काठमाडौं । अमेरिकी डलरसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
अवैध रूपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको हाते झोलाबाट विभिन्न देशका मुद्रा फेला परेपछि पक्राउ गरिएको उनले बताए ।
उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, रु ३१ हजार ६ सय ५ इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको छ ।
मंगलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । (रासस)
