फागुन ११, लण्डन । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले शुक्रबार यही फेब्रुअरी २५ का दिन ‘नेपाल डे’ मनाउने भएको छ । अस्पतालमा विविधता र समावेशी प्रमुखका रूपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत अस्पतालमा कार्यरत कर्मचारीलाई यस्तो जानकारी गराएकी हुन् ।
अस्पतालमा हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन् । नेपाल डे मनाउन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ । उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहेकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन् ।
नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ । नेपाली भेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताइन् ।
यस्तै यहीबीच नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने छ भने नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्बिर र नेपाली कला प्रदर्शनी गरिने छ । अस्पतालमा करिब १५० नेपाली कार्यरत छन् । (रासस)
