
माघ १६, काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ ।
न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।
चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँकाे राष्ट्रिय मौसम विभागले जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ । हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले यस्तो आग्रह गरेको हो ।
भारी हिमपात र हुरीका कारण पाँच हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ ।
अमेरिकाका सात करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने पनि खबरमा उल्लेख गरिएको छ ।
नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर (दुई फिट)सम्म हिउँ जमेको थियो । साथै म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ ।
यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ । यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ । यसो हुँदा ‘बम्ब साइक्लोन’ आउने बताइएको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ । (एजेन्सी)
