पुष २७, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले आज (मंगलबार) संयुक्त सूचना जारी गरेको छ ।
बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन जारी गरिएको १८ वटा बुँदामा आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।
आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ ।
सुचना अनुसार अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिनेछ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्नसमेत भनिएको छ ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ। यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ ।
