पुष ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनको सङ्क्षिप्त रूप वाचन गरेका थिए ।
माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुँदैछ । माओवादीले सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने सङ्कल्प लिएको छ ।
बैठकमा माओवादी प्रवेश गर्न लागेको साना दलका बारेमा पनि छलफल भएको थियो ।
आज आयोजित एक कार्यक्रमबीच नेकपा मसाल र नेकपाबाट विद्रोह गरी बनेको दल माओवादी प्रवेश गर्ने कार्यक्रम रहेको प्रवक्ता महराले जानकारी दिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष दाहालले स्वागत गर्ने कार्यक्रम छ । (रासस)
