मङ्सिर २०, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा सह- प्रवक्ता समीर अधिकारीले नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको पनि मन्त्रालयले बताएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले बताएको छ ।
उनीहरु आईसोलेशन कक्षमा रहेको र सामान्य लक्षण नदेखिएको पनि मन्त्रालयले बताएको छ ।
सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१. ५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एशियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ ।
