कुलमान घिसिङले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

Byपहिलो सुचना

२०७८ कार्तिक २९, सोमबार १५:३० २०७८ कार्तिक २९, सोमबार १५:३० २०७८ कार्तिक २९, सोमबार १५:३०

कार्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे।

‘महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,’ घिसिङले भने।सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए।

घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिए ।

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए। आयोजनाले तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइरहेको छ। 

प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायतका कामका लागि तयारी थालिएको छ।

उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो।  

आयोजनाको प्याकेज १ (हेडवर्क्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात कम्पनीले वि.सं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो।

कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिका अनुरूप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजना प्रमुख अच्युत घिमिरेले प्याकेज १ अन्तर्गतको कामका लागि मोबाइल क्रसर प्लाण्ट निर्माण, खोला क्रसिङ गर्ने काम भइरहेको जानकारी दिए।

प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ। जसअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ। आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्यांक लगायतका काम भइरहेको छ।

प्याकेज ३ अन्तर्गतको प्रसारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook