कात्तिक २८, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।
अर्थमन्त्रालयमा आइतवार भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले बताएको छ । केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ ।
यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले आइतवारको छलफल नियमित भएको प्रतिक्रिया दिएका छन् । (रासस)
