कात्तिक १३, वाशिङटन डीसी (अमेरिका) । यस वर्षको तेस्रो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धिदर तीव्र रुपमा सुस्ताएको छ । कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारियन्टको प्रकोपका कारण उपभोक्ता खर्च खुम्चिएपछि आर्थिक वृद्धिदर घटेको हो ।
सेप्टेम्बरसम्मको तीन महीनामा अर्थतन्त्र वार्षिक २ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो त्रैमासमामा वृद्धिदर ६ दशमलव ७ प्रतिशत थियो । अमेरिकाको आपूर्ति शृंखलामा समस्या आएको, मुद्रास्फीति बढेको र कोभिडका कारण केही क्षेत्रमा प्रतिबन्ध लागेकै बेलामा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।
यद्यपि, संक्रमणको दर घटिरहेको छ भने वृद्धिदरदे गति लिने अपेक्षा केही विज्ञहरुले गरेका छन् । त्रैमासिक रुपमा भने समीक्षा अवधिमा अर्थतन्त्र शून्य दशमलव ५ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमासमा कोभिडका कारण नयाँ प्रतिबन्धहरु लगाइएको थियो भने देशका अन्य केही क्षेत्रमा व्यसायहरुको पुनः सञ्चालनमा पनि ढिलाई भएको वाणिज्य मन्त्रालयले बताएको छ ।
महामारीका कारण व्यवसायहरुलाई दिइने कर्जा, राज्य र स्थानीय सरकारहरुलाई दिइने अनुदान र घरपरिवारलाई दिइने सामाजिक सुरक्षा भत्ता सबै घटेको मन्त्रालयको भनाइ छ । चिप अभावबीच मूल्य बढ्दा नयाँ कारको विक्रीमा तीव्र कमी आएको बताइएको छ ।
उपभोक्ताहरुले खनपान र होटलमा बस्नेजस्ता गतिविधिमा कम खर्च गर्दा समीक्षा अवधिमा अमेरिकी सेवा क्षेत्रमा ७ दशमलव ९ प्रतिशतको संकुचन आएको छ । (एजेन्सी)
