शुक्रवारदेखि ४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन हुने

Byपहिलो सुचना

२०७८ भाद्र ३१, बिहीबार ११:१९ २०७८ भाद्र ३१, बिहीबार ११:१९ २०७८ भाद्र ३१, बिहीबार ११:१९
Khadhyanna

भाद्र ३१, काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

शुक्रवार अर्थात् असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जानकारी दिएको हो । 

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिए ।

उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रू. पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रू. १० छूट दिनेछ । कम्पनीले काठमाडौं उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक विक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री विक्री वितरण हुने जानकारी दिएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु विक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्यांग्रा ल्याउने सम्भावना कम रहेको जानकारी दिएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्यांग्राको विक्री वितरण रोकेको थियो ।

खाद्य कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना विक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएका छन् । 

यसअघि नै कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न विक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook