भदौ ३०, काठमाडौं । कोरोनाभाइरस महामारीका कारण यस अगाडि पटकपटक स्थगित भएको कक्षा १२ को वार्षिक परिक्षा आज देखि सुरु हुने भएको छ । नियमित तालिममा वैशाख पहिलो सातादेखि सञ्चालन हुनपर्ने कक्षा १२ को परिक्षा राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि सुरू गर्न लागेको हो ।
यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन् । यो पटक पनि विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन् । परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन् ।
अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । यसअघि सरकारले प्रवेश पत्रका आधारमा विद्यार्थीलाई कोरोना खोप लगाएको थियो। परीक्षा असोज ८ गते सकिनेछ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए ।

