भाद्र २८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्ववानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ ।
यही भाद्र २३ गते सुरु भएको संसद् बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको हुँदा यसमा सहमति जुटाउने प्रयासस्वरूप सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठक आज दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने सभामुख सापकाेटाकाे सचिवालयले जनाएकाे छ । सो बैठकमा संसदमा अवरोधसहित अन्य महत्त्वपूर्ण समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने सचिवलयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
