असार ९ , काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सोमबार साँझ सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३, स्थित होटल शुभबाट पक्राउ गरिएको हो । आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत आएका थिए । कर्णालीका प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा चलिरहेको सोही कार्यक्रमस्थलबाट प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।
पौडेलसँगै कार्यदलका संयोजक उपाध्यक्ष रामबहादुर थापा प्रमुख अतिथि थिए । यस्तै, कार्यदलका सदस्यहरू उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेल पनि बैठकमा थिए । पौडेललाई पक्राउ गर्ने समयसम्म कर्णालीका १० मध्ये आठ जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा बोलेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार सुर्खेत र जाजरकोटको बोल्ने पालो नआउँदै पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको कमान्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं पठाउन नेपालगञ्ज लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गर्नुअघि उनको निवासमा छापा मारेको थियो ।
विभागले पौडेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । विभागले पौडेललाई पक्राउ गरेर उपस्थित गराउन सुर्खेत प्रहरीलाई आजै पत्र पठाएको थियो । उनलाई प्रहरीले काम छ भन्दै कार्यक्रमस्थलबाट बाहिर निकालेर पक्राउ गरेको थियो । शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो ।
पौडेल वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पक्राउ गरेका एमालेका दोस्रो वरीयताका नेता हुन् । यसअघि पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले २३ भदौको जेन–जी आन्दोलनमा १९ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।
गएको २१ फागुनमा झण्डै दुईतिहाइको जनमत पाएको रास्वपाले सुरुवाती चरणबाटै एमालेप्रति आक्रामक बनिरहेको एमाले केन्द्रीय सदस्य रुद्र शाहीले बताए । सरकार गठन भएसँगै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले एमालेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको उनले बताए । वर्तमान सरकार र एमालेबीचको टसल अहिलेको भने होइन । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै एमाले र बालेनबीच टसल चल्ने गरेको थियो ।
राजनीतिक र प्रशासनिक रूपमा बालेनको स्वतन्त्र शैली र एमालेको संगठित संरचनाबीच टकराव थियो । बालेनले काठमाडौं महानगरमा अवैध संरचना भत्काउन सुरु गर्दा एमालेले त्यसको प्रक्रियागत शैलीलाई लिएर तीव्र असन्तुष्टि जनाएको थियो ।
त्यस्तै, थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा एमालेले त्यसको प्रतिवाद गर्दै गरिब र निमुखा जनतामाथि बल प्रयोग भएको आरोपले पनि बालेन र एमालेबीचको टकराव चुलिएको थियो । टुकुचा खोला उत्खनन र विभिन्न ऐतिहासिक सम्पदाको पुनर्निर्माणका क्रममा एमाले र बालेन प्रशासनबीच पटक–पटक विवाद भएको थियो । महानगरको नेतृत्वमा रहँदा असहयोग गरेको भन्दै बालेनले तत्कालीन प्रधानमन्त्री ओली सहभागी भएका थुप्रै कार्यक्रम बहिष्कार गरेका थिए ।
