मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

Byपहिलो सुचना

२०८२ कार्तिक १४, शुक्रबार १४:२४ २०८२ कार्तिक १४, शुक्रबार १४:२४ २०८२ कार्तिक १४, शुक्रबार १४:२४

कात्तिक १४, काठमाडौँ । मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । 

मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उनका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ ।

सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ । दुई दर्जनभन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ । ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ ।

बङ्गालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिए । त्यसपछि भने सुधार हुँदै जानेछ ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook