भाद्र २२, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई गृह मन्त्रालयले सरुवा गरेको छ । पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।
गृह मन्त्रालयको अनुसार अहिले उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । पराजुलीको शाखा भने मन्त्रालयमा हाजिर भएपछि तोकिनेछ ।
हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेको बेलामा सीडीओ पराजुलीले महामारीको बेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टीकरण सोधेका थिए । यसै कारण पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।
