रवि रिहा भएकोमा जेन-जी चकित, टिकटकमा चलाए ‘नो रवि ट्रेन्ड’

Byपहिलो सुचना

२०८२ भाद्र २५, बुधबार ०९:४३ २०८२ भाद्र २५, बुधबार ०९:४३ २०८२ भाद्र २५, बुधबार ०९:४३

भदौं २५, काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन थालेको छ । आफूलाई पछिल्लो आन्दोलनको हिस्सा मान्ने केही जेनजी उमेर समूहका युवाहरूले नै टिकटकमा ‘नो रबि’ ट्रेन्ड चलाएका छन् । उनीहरूले रवि बेदाग नरहेको भन्दै उनको रिहाइको विरोध गरेका छन् । रविका कारण जघन्य अपराधका अरु अपराधीसमेत भागेकोमा जेनजीहरू रुष्ट छन् । ‘हामी रवि लामिछानेका लागि लडेका थिएनौँ’, सबु रेग्मीले टिकटक भिडियोमा भनेकी छन्, ‘पहिलो कुरा, कुनै पनि जेनजी रवि लामिछानेको पक्षमा छैन, उनीसँगै १५/१६ सय अपराधी जेलबाट निस्केका छन् ।’
उनीहरूका कारण अरु असुरक्षित भएको रेग्मीको भनाइ छ ।  उनले सबै अपराधी भागेको जिम्मेवारी रास्वपाले लिन्छ ? भनेर प्रश्नसमेत गरेकी छन् । 

अर्की टिकटक प्रयोगकर्ता मलि शा भन्छिन्, ‘जेनजीले दाग लागेका र अपराधी छुटाउन आन्दोलन गरेका होइनन्, हामी लामिछानेको रिहाइ स्वीकार्दैनौँ ।’ 

जेनजी नामको टिकटक ह्याण्डलमा रवि लामिछानेलाई उनकै कार्यकर्ताले मौकाको फाइदा हेरेर छुटाएको लेखिएको छ । यो ह्याण्डलमा पनि लामिछानेको रिहालाई अस्वीकार गरिएको छ । 

रेथिएस्ट नामका जेनजी युवाले पनि लामिछानेले धमिलो पानीमा माछा मार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । ‘रवि लामिछानेलाई जेलबाट निकाल्ने हाम्रो एजेन्डा छँदै थिएन’, उनले भनेका छन्, ‘यो हाम्रो आन्दोलनको दुरुपयोग हो । जेलमा गएर लामिछाने र अरु कैदीलाई निकाल्ने काम रास्वपाका झोलेहरूले गरेका हुन् ।’

टिकटकमै शसांक शेखरले पनि रवि लामिछानेलाई जेनजीले नछुटाएको बताएका छन् । ‘रवि एक अभियुक्त हुन्, उनी जेलबाट फरार भएका हुन्, उनलाई पुनः जेलमा हालिनुपर्छ जेनजीको यो माग हो’, निकनेम (मिस्टर पोइट) ले भिडियोमा भनेका छन् । 

यस्तै अशयमा अरु थुप्रै भिडियो जेनजीहरूले बनाइरहेका छन् । आफूहरू भ्रष्टाचार र पुरानो राजनीति सम्झाउने प्रवृतिको विरोधमा आन्दोलनमा उत्रेको र लामिछानेलाई तीन तहको अदालतले बेदाग नमानेकाले स्वीकार्न नसक्ने जेनजीहरूको भनाइ छ । अदालतबाट सफाइ पाएर आएमा स्वागत गर्ने उनीहरूले बताएका छन् । कतिपयले चाहिँ लामिछानेलाई फेरि जेल पठाउन माग गरेका छन् । यसअघि जेनजी नामको फेसबुक पेजबाट रवि रिहाइको विरोधमा आएको पोस्ट व्यापक शेयर भएको देखिन्थ्यो । 

जेनजी आन्दोलन चलिरहेका बेला मंगलबार लामिछाने आफूलाई कारागारले प्रक्रिया पूरा गरेर छोडेको दाबी गर्दै आफ्ना कार्यकर्ताको घेरामा रहेर नख्खु कारागारबाट बाहिरिएका थिए । उनीसहित सयौँ अपराधी र अभियुक्त जेलबाट भागेका छन् । दुईपल्ट उपप्रधान एवम् गृहमन्त्री भैसकेका लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दाका अभियुक्त हुन् । उच्च अदालतको आदेशले रुपन्देही कारागार चलान भएका उनी आफ्नै मागबमोजिम केही साता अगाडि नख्खु कारागार सरुवा भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook