जेठ ४, काठमाडौँ । सांसदहरूले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरबदल भएसँगै फेरि विद्युत् आपूर्ति बन्द हुन थालेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिको सुनिश्चित गर्न र अहिले अवरुद्ध हुनुका कारणहरूबारे जानकारी गराउन माग गरे ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, ‘अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसको कारण के हो? नेपाल विद्युत प्राधिकरणको नेतृत्व फेरिने बित्तिकै यस्तो किन भइरहेको छ? जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु ।’
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको नेतृत्व फेरिनेवित्तिकै बत्ती झ्याप झ्याप गइरहेकोप्रति प्रश्न उठाए । ‘हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो समय लोडसेडिङ भएजसरी झ्यापझ्याप बत्ती जान्छ । के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो?,’ उनले प्रश्न गरे ।
उनले नियमित विद्युत् आपूर्तिका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत् जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।
नेकपा माओवादी केन्द्रकी सांसद सुशीला श्रीपाली ठकुरीले सरकारले राजनीतिक अभीष्ट पूरा गर्न कर्मचारीहरू हेरफेर गर्दा जनतालाई मार परेको बताइन् । उनले नेपाल विद्युत प्राधिकरणमा नेतृत्व फेरबदलको निर्णयलाई उदाहरणको रुपमा लिँदै अहिले फेरि लोडसेडिङ गराउने प्रयास भइरहेको बताइन् ।
‘हामीले कुलमान घिसिङको विषयमा बोल्दा एउटा कर्मचारीको लागि प्रतिपक्षी दलले किन यसरी बोल्नुपर्यो? भनियो । तर अहिले फेरि लोडसेडिङ गराउने प्रयास गइरहेको छ। बत्ती झ्याप झ्याप हुन थालेको छ । यो किन भइरहेको छ?,’ उनले भनिन्, ‘सरकारले यसको जवाफ दिनुपर्छ ।’