सर्वोच्चको आदेशपछि भुटानी शरणार्थी थुनामुक्त

Byपहिलो सुचना

२०८२ बैशाख १३, शनिबार ०९:०० २०८२ बैशाख १३, शनिबार ०९:०० २०८२ बैशाख १३, शनिबार ०९:००
Supreme Court

वैषाख १३, काठमाडौं । अमेरिकाबाट ‘डिपोर्ट’ भएर भुटान हुँदै नेपाल प्रवेश गरेपछि पक्राउ परेका चार भुटानी शरणार्थी शुक्रबार थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि उनीहरूलाई शरणार्थी शिविरमा पठाइएको छ ।

अमेरिकाले ‘डिपोर्ट’ गरेपछि चार युवा गत १४ चैतमा दिल्ली हुँदै भुटानको पारो विमानस्थल ओर्लिएका थिए । तर भुटानले अस्वीकार गरेपछि उनीहरू भारतीय भूमि हुँदै अवैध रूपमा नेपाल छिरेका थिए । उनीहरूमध्ये ३ जना १५ चैतमा झापाको बेलडाँगी शरणार्थी शिविरबाट र अर्का एक जना झापाकै बाहुनडाँगीबाट पक्राउ परेका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अध्यागमन कार्यालयले अनुसन्धान गरिरहेको थियो ।

बेलडाँगीका नारायणकुमार सुवेदीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई स्थान हद तोकेर प्रहरी कार्यालयबाट स्थानान्तरण गर्न र ६० दिनभित्र अनुसन्धान सक्न आदेश दिएको हो ।

आदेशपछि भुटानी शरणार्थीहरू आशिष सुवेदी, सन्तोष दर्जी र अशोक गुरुङले झापाको बेलडाँगी शिविर र रोशन तामाङले मोरङको पथरी शनिश्चरे शिविरमा बस्ने इच्छा व्यक्त गरेका थिए । उनीहरूलाई अधिकारकर्मीको रोहबरमा सम्बन्धित शरणार्थी शिविरमा पुर्‍याइएको एक अधिकारकर्मीले जानकारी दिए । सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई सम्बन्धित नगरपालिकाभित्र मात्र हिँडडुल गर्न इजाजत दिइएको छ र हरेक सात दिनमा नजिकको प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook